Quantcast
Channel: ScotNepal
Viewing all articles
Browse latest Browse all 20351

जहाजभित्रै किन फाल्छन् विदेशीले बोर्डिङ पास

$
0
0
पुस १०, काठमाडौं : नाथली जौदासुइली नामका इरानी नागरिक गत मंसिर ६ गते जेट एअरवेजको विमान चढेर काठमाडौं आए। विमानबाट नउत्रँदै उनले बोर्डिङ पास फालिदिए र त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अध्यागमन कार्यालयमा बयान दिए- जहाजभित्र कता हरायो कता ?

नाथलीजस्तै जहाजभित्रै बोर्डिङ पास फाल्ने विदेशीको संख्या दिनहुँ बढ्दो छ। किन फाल्छन् उनीहरू बोर्डिङ पास ? अध्यागमनले खासै वास्ता नगर्ने र वास्ता गरिहाले पनि थोरै पैसामा मिलाउन सकिने जानकारी पाएकाले नेपाल हुँदै नक्कली पासपोर्ट प्रयोग गरेर युरोप र अमेरिका जान खोज्ने विदेशीले बोर्डिङ पास फाल्ने गरेका हुन्।

बोर्डिङ पासमा जहाज चढेको मुलुकको अध्यागमन कार्यालयको छाप लगाइएको हुन्छ। सामान्य परीक्षणले सक्कली पासपोर्ट प्रयोग गरे नगरेको समेत खुल्ने हुँदा अन्तर्राष्ट्रिय मानव तस्कर गिरोहले त्यसलाई जहाजभित्रै फाल्न सल्लाह दिने गरेको पक्राउ परेका विदेशीको बयानबाट खुलेको छ।

नेपालको अध्यागमनमा आएपछि नक्कली पासपोर्टमा अनएराइभल भिसा लगाउने विदेशीले आफू उड्ने ठाउँबाट सक्कली पासपोर्टमै नेपालसम्मको यात्रा गर्ने गरेका छन्। अरू मुलुकमा सक्कली प्रयोग गरी यहाँ आएपछि नक्कली प्रयोग गर्नुमा थाइल्यान्डलगायत विभिन्न देशमा बसेर विकसित मुलुकहरूको नक्कली पासपोर्ट बनाउने गिरोहको नेपालको अध्यागमनसम्मको पहुँचले काम गरेको छ।

नेपाल प्रहरी केन्द्रीय अनुसन्धान ब्युरोको एक अध्ययनमा विभिन्न देशमा नक्कली पासपोर्ट कारोबार गर्ने गिरोहले पहिलो विश्वका मुलुकमा उड्न त्रिभुवन विमानस्थल सुरक्षित रहेको सल्लाह दिएको आधारमा त्यस्ता व्यक्तिले काठमाडौंलाई ट्रान्जिट बनाएका हुन्। ६ महिनाभित्र नक्कली पासपोर्ट प्रयोग गरेर युरोप र अमेरिका जान खोज्दा पक्राउ परेका विदेशीसँगको बयानका आधारमा यस्तो तथ्य खुलेको हो।

मानव तस्कर गिरोहले यस्तो जानकारी इन्टरनेटमा समेत राखेको र खोजी गर्दा ट्रान्जिटका रूपमा थोरै खर्चमा प्रयोग गर्न सकिने थाहा पाएर काठमाडौं विमानस्थल रोजेको बयान भारतीय नागरिक दिलजित सिंहले प्रहरीलाई दिएका थिए। गत १३ सेप्टेम्बरमा पक्राउ परेका उनले ७०७०२७७३५ नम्बरको बेलायतको नक्कली राहदानीमा नेपाल प्रवेशको अनएराइभल भिसा लगाएका थिए। त्यसैलाई प्रयोग गरी उनले बेलायत जान खोजेका थिए।

अध्यागमन विभागका महानिर्देशक शरदचन्द्र पौडेलले नक्कली पासपोर्ट प्रयोग गर्नेहरू पक्राउ पर्दै आएको दाबी गरे। उनले भने, 'थाइल्यान्डमा विदेशी पासपोर्ट किनेर नेपाल आउने र यहाँबाट भिसा लिन सफल हुने गरेको पाइएको छ। त्यस्ता व्यक्तिलाई रोक्दै आएका छौं।'

युरोप, अमेरिकालगायत प्रथम विश्वका देशमा जान नेपालका ट्राभल एजेन्सीबाट टिकट लिने र सक्कली-नक्कली पासपोर्ट छुट्याउन विमानस्थलमा राखिएको युभी लाइट मेसिन प्रयोग नगर्ने गरिएकाले पनि नक्कलीका लागि नेपालको विमानस्थल मानव तस्करीको केन्द्र बन्न पुगेको हो।

ब्युरोको प्रतिवेदनमा त्यस्तो मेसिन भए पनि विमानस्थलका कर्मचारीको लापरबाही, ज्ञानको कमी, मेसिन बिग्रिएको कारण देखाउने र अनियमिततासमेतको सम्भावनाले त्यस्ता व्यक्तिले नेपाललाई प्रयोग गरिरहेको उल्लेख छ।

महानिर्देशक पौडेलले भने मेसिन प्रयोग गरिँदै आएको दाबी गरे। उनले भने, 'कामको चाप हुन्छ, सबैमाथि शंका गर्न पनि गाह्रो हुन्छ।'

पर्यटक भिसामा नेपाल आउनेमध्ये इरान, इराकलगायत मुलुकका केही नागरिकनक्कली पासपोर्ट प्रयोग गरी काठमाडौंबाट हवाईमार्ग हुँदै युरोप, अमेरिका र हङकङ प्रवेश गर्ने क्रम बढ्दो छ। विमानस्थलस्थित अध्यागनका कर्मचारीलाई नक्कली पासपोर्ट प्रयोगकर्ताको पहिचान गर्न पनि हम्मेहम्मे परेको छ।

अध्यागमनका कर्मचारीले नक्कली पासपोर्ट भएको प्रमाणित गर्नसके उनीहरू पक्राउ पर्छन् नत्र सहजै पार गर्छन्। ब्युरोको प्रतिवेदनमा यस्ता व्यक्ति हङकङलगायतका मुलुकबाट फर्काइने गरेका र फर्केपछिमात्र पक्राउ पर्ने गरेको उल्लेख छ।

पर्यटक भिसामा नेपाल आएका इरानी नागरिक जर्ज सान्जेज नक्कली स्पेनी पासपोर्ट प्रयोग गरी बेलायत जाने क्रममा विमानस्थलबाट गत कात्तिक २८ गते पक्राउ परेका थिए। उनी १५ दिनको पर्यटक भिसामा आएका थिए। उनले २८२००६ नम्बरको स्पेनी पासपोर्ट प्रयोग गरेका थिए।

पक्राउलगत्तै सान्जेजको पासपोर्ट परीक्षण गर्दा नक्कली पुष्टि भयो। ब्युरोका डीआईजी प्रकाश अर्यालले नेपाल आउने इरान, इराकलगायतका केही नागरिकले नक्कली कागजपत्र बनाई हवाईमार्ग हुँदै विकसित मुलुक जान खोज्ने क्रम बढेको बताए। उनले भने, 'यस्ता गतिविधि रोक्न अध्यागमनका कर्मचारी नै बढी सक्रिय हुनुपर्छ।'

थाइल्यान्डको बैंकक, पाकिस्तान, भारत र नेपालमा नक्कली पासपोर्ट बनाउने गिरोह सक्रिय छ। विदेशी नागरिकले मात्र हैन, नेपाली नागरिकले समेत विदेशका नक्कली पासपोर्ट प्रयोग गरेको खुलासा भएको छ।

बेलायतबाट काठमाडौं आउने क्रममा गत मंसिर २१ मा त्रिभुवन विमानस्थलमा पक्राउ परेका हेटौंडाका नवीन लोप्चनले फ्रान्सको नक्कली पासपोर्ट प्रयोग गरेका थिए। उनी अहिले यही अभियोगमा अध्यागमन हिरासतमा छन्। लोप्चनले बयानमा आफूले बेलायतमा भारतीय नागरिक इम्रान पटेललाई १० हजार पाउन्ड दिएर फ्रान्सको नक्कली पासपोर्ट बनाएको बताएका थिए।

तर उनले नेपाली पासपोर्ट हुँदाहुँदै किन फ्रान्सको नक्कली पासपोर्ट बनाए भन्नेमा अनुसन्धान भइरहेको अध्यागमन स्रोतले बतायो।

लोप्चनले बेलायतबाट कतारको दोहा आउँदा ४५००४५४ नम्बरको नेपाली पासपोर्ट प्रयोग गरेका थिए भने दोहाबाट काठमाडौं आउँदा ०७ एफ ई ६५६६५ नम्बरको फ्रान्सको नक्कली पासपोर्ट प्रयोग गरेका थिए।
- अन्नपूर्ण पोष्ट
Latest LokGeet + More Videos
Latest Today Various Entertainment + More Videos

Viewing all articles
Browse latest Browse all 20351


<script src="https://jsc.adskeeper.com/r/s/rssing.com.1596347.js" async> </script>