Quantcast
Channel: ScotNepal
Viewing all articles
Browse latest Browse all 20351

होलीमै खुल्छ देवर-भाउजूको प्रेम रहस्य

$
0
0
सप्तरीलाई कार्य क्षेत्र बनाएर पत्रकारिता गरिरहेका श्यामसुन्दर यादव मुख्यतः संस्कृतिकर्मी हुन्। मधेसकेन्दि्रत राजनीतिक दलहरूले हिन्दी भाषालाई तराईको मुख्य भाषा बनाउन जोड गरिरहेका बेला यादवले सप्तरीका घर-घर पुगेर मातृभाषा मैथलीको प्रचार गरे। यही सार्वजनिक कार्यका कारण स्थानीय स्तरमा लोकप्रिय भए पनि उनी राजनीतिक दलहरूको आँखाको कसिंगर बने। भाषिक जागरण अभियानका संयोजक एवं मैथली सांस्कृतिक परिषद्का संस्थापक अध्यक्ष यादव तराई क्षेत्रका भिन्न संस्कृतिको रक्षामा अहोरात्र खटिरहेका छन्। यसका लागि उनले पत्रकारितालाई आधार बनाएका छन्। होली विशेषाङ्कका लागि नेपाल पत्रकार महासंघ सप्तरीका उपाध्यक्ष यादवसँग तराई क्षेत्रमा मनाइने होली तथा यसका सांस्कृतिक पक्षमा गरिएको कुराकानी ।

जब होलीको उत्सव सुरु हुन्छ, नेपालीहरू तराईतिर आँखा लगाउन थाल्छन्, यसको कारण के होला ?
नेपालभरि जात्रा हुन्छ, तर त्यसको सौन्दर्य काठमाडौं उपत्यकामा मुखरित हुन्छ। जात्राको भिन्न-भिन्न रूप काठमाडौंमा जस्तो अरूतिर देख्न पाइँदैन। दशैं राष्ट्रिय पर्व हो तर यसको रौनक पहाडी गाउँ-घरमै बढी हुन्छ। जसरी पहाडी बस्ती देश-विदेशबाट फर्किएका युवाहरूले ढाकिन्छ, त्यति हार्दिकता अन्यत्र देख्न पाइँदैन। यस्तै अवस्था होलीमा तराईंका गाउँमा देख्न पाइन्छ। फागुपूणिर्मा देशभरि नै मनाइन्छ तर तराई-मधेसमा यसको आत्मीयता नै फरक रूपमा प्रकट हुन्छ।

फागुपूणिर्मा सबै हिन्दूको साझा पर्व हो, तर तराईले नै यसलाई किन बढी महत्त्व दियो ?

यसका विविध कारण छन्। मुख्य रूपमा भन्नुपर्दा यो पर्व वसन्त ऋतुको आगमनको पर्व हो। मधेसीहरू जति पनि गर्मी खप्न सक्छन्, कठयाङ्गिँ्रदो र शितलहरको जाडोले उनीहरूलाई सास्ती दिन्छ। होली जाडोको बिदाइ र गर्मीको आगमनको सङ्केत हो। यहि बेला गहुँका बाला लहलह झुलेका हुन्छन्, तोरी उखेल्ने काम सकिन्छ। यो किसानहरूको फुर्सदको समय पनि हो।

त्यसो त धान काटेपछि तराईका किसान फुर्सदिला हुन्छन्, होलीका लागि यही मौसम नै किन ?

मुख्यतः होली वसन्त ऋतुको आगमनको संकेत हो। प्रकृतिले यो मौसममा कामभावनाको सञ्चार गराइरहेको हुन्छ। यसले युवा-युवती बढी खुल्न खोज्छन्। यही कारणले होलीमा युवा-युवती बढी खुल्ला भएर हिँडडुल गरिरहेका हुन्छन्। प्राचीनकालदेखि नै यसलाई युवा-युवतीको पर्वका रूपमा विकास गरिएको छ। युवा-युवतीबीच रंग र अबिरको जात्रा चल्छ। बाँसका पिचकारी बनाएर आफूले मनपराएकी युवतीमाथि रंग मिश्रति पानी हानिन्छ। यो बेला समाजले पनि केही छुट दिएको हुन्छ।

देवर-भाउजूबीच होलीमा विशेष खालको प्रेम प्रकट हुन्छ। यो कस्तो खालको प्रेम हो ?

त्यो वासनायुक्त प्रेम होइन, यसलाई वात्सल्य प्रेमका रूपमा लिनुपर्छ। यसमा यौन आकर्षणभन्दा पनि मातृत्व प्रेम झल्किएको देख्न सकिन्छ। तराई अहिले पनि धेरै खुल्न सकेको छैन। यस्तो बन्द समाजमा पनि होलीमा देवर-भाउजूबीच जुन खुला रूपमा रंग र अबिरको खेल देखिन्छ, यस्ता दृश्यले देवर-भाउजूको प्रेमलाई सतहमा ल्याउँछ। पहिलेको बन्द समाजमा पनि होली नै यस्तो पर्व थियो, जसले देवर-भाउजूको आत्मीयतालाई सतहमा ल्याइदिन्थ्यो। त्यो चलन अहिले पनि छ।

देवर-भाउजूबीचको यो प्रीतको खास रहस्य के हुन सक्छ ?

तराई क्षेत्रमा ठूलो दाजु वा बुवा घरमूली हुन्छन्। उनीसँग सबै जना सजिलै हाँसखेल गर्न सक्दैनन्, न त आफ्ना कुरा खुलेर भन्न सक्छन्। भाइले दाइसँग कुनै कुरा लिनुपर्‍यो भने भाउजूमार्फत नै जानुपर्छ। त्यस्तै महिलाहरू श्रीमान्सँग साथीझैं व्यवहार गर्न सक्दैनन्। त्यसको पूर्ति देवरको सम्बन्धले स्थापित गरिदिन्छ। धेरै सन्तान र संयुक्त परिवारका कारण कतिपय अवस्थामा देवरलाई भाउजूले आमाले झैं हुर्काएका हुन्छन्। यही कारण उनीहरूबीच प्रेमपूर्ण सम्बन्ध स्थापित हुन्छ।

होलीका कतिपय गीत विरह र वेदनामा डुबेका हुन्छन्। कतै महिलाले विद्रोहका भाषा पनि बोलिरहेका हुन्छन्। यसको कारण के होला ?

तराई-मधेसमा आज मात्र होइन, पहिलेदेखि नै घर मूली पैसा कमाउन विदेश जाने चलन थियो। वसन्त ऋतुको आगमनसँगै उनीहरूभित्रको कामेच्छा जागृत हुन्छ र पतिको अभाव महसुस हुन्छ। होलीपर्व त्यही पीडा पोख्ने माध्यम बन्ने गरेको छ। यो क्षेत्रमा महिलाको जुन दुःख छ, ती सबै विद्रोही गीतमार्फत प्रकट हुने गरेका हुन्। मुख्य कुरा होलीका अवसरमा यस्ता गीत मज्जाले गाउन पाइन्छ। त्यसमा समाजले पनि स्वीकृति दिन्छ।

पाका पुरुषहरू यो बेला रातभरि गीत गाउँछन्। यसको खास कारण के हो ?

श्री पञ्चमीदेखि फागु पूणिर्मासम्म करिब एक महिना वसन्त ऋतुको आगमन र होलीको खुसीमा ती गीत गाइएका हुन्। साँझको शीतल हावा, वसन्त ऋतुको आगमन र कृषि कर्मबाट हुने फुर्सदको सदुपयोग गरिएको हो। हरेक गाउँमा दुई-चार यस्ता समूहले राति २ बजेसम्म होली गीत गाएर रमाइलो गर्छन्। यस्ता सामूहिक गायनकै कारण होली भित्रिएको सन्देश जन-जनमा पुग्छ।

होलीले दिने सबैभन्दा महत्वपूर्ण सन्देश के हो ?

एकता, भातृत्व र प्रेम।

तराईमा जुन अनेकता र विभाजन छ, त्यसले होलीको सन्देशलाई व्यङ्ग्य गर्दैन ?

तराई-मधेसमा माओवादी विद्रोहदेखि मधेस आन्दोलनसम्म जुन विभाजन थियो, त्यो अहिले हराइसकेको छ। काठमाडौंमा नेता हुनेहरूले पहाडी-मधेसीबीच, एक जात र अर्को जातबीच जुन विभाजनको रेखा कोरेका थिए, त्यो अहिले छैन। उनीहरू केही समय आम मानिसलाई बहकाउन सफल भए। अहिले समाजले त्यो राजनीतिक दाउपेच बुझिसकेको छ। सामाजिक रूपमा हामीले के देख्यौं भने जुन क्षेत्रमा मधेसी र पहाडीको बस्ती छ, त्यो ठाउँमा हरेक विषयमा मधेसीहरूको विकास चाँडो भएको छ। बरु होलीका माध्यमबाट यस्ता समस्या निमिट्यान्न भएका छन्।

विगतको द्वन्द्वले तराईको सामाजिक एवं सांस्कृतिक पक्षमा के-कस्तो असर पार्‍यो ?

डर-त्रासको राजनीति हावी भएकाले मानिसले खुलेर रमाइलो गर्न सकेनन्। हिजो होली पर्वको अवसरमा मुस्लिम समुदाय रंग र अबिर लगाइदिएर प्रेम प्रदर्शन गर्थे। त्यो क्रमबीचमा रोकिएको थियो। अहिले फेरि त्यस्ता दृश्य देख्न थालिएको छ। राजविराजमै मदरसा समन्वय समितिका अध्यक्ष आसिन मियाँले होलीको विशेष कार्यक्रम गर्दै हुनुहुन्छ। मुस्लिम समुदायले हिन्दू पर्वमा गर्ने यस्ता कार्यक्रम संसारमै विरलै देख्न पाइन्छ। द्वन्द्वको समयमा यस्ता कार्यक्रम रोकिएका थिए, जुन दुःखद थियो।

यसपालिको होलीमा तपाईंको विशेष कार्यक्रम के छ ?

म भाषिक एवं सांस्कृतिक जागरणमा लागेको युवा भएका कारण होलीजस्ता पर्वलाई आफ्नो अभियान अघि बढाउने माध्यम बनाउन चाहन्छु। तैपनि दुःखको कुरा के छ भने सप्तरी देश भरिमै सबैभन्दा बढी युवा विदेश पलायन हुने जिल्ला हो। म जसलाई सांस्कृतिक महत्व सिकाउन चाहन्छु, उनीहरू नै देशमा छैनन्। तैपनि घर-घर गएर म आफ्नो अभियान जारी राख्छु।
- साप्ताहिक

Viewing all articles
Browse latest Browse all 20351


<script src="https://jsc.adskeeper.com/r/s/rssing.com.1596347.js" async> </script>