Quantcast
Channel: ScotNepal
Viewing all articles
Browse latest Browse all 20351

ढाँटको निम्तो खाइपत्याउनु

$
0
0
 हाँस्य व्यङ्ग्य
- काशिनाथ
सक्नुहुन्छ भने लुट्नुहोस्, सक्नुहुन्न भने चोर्नुहोस्, त्यो पनि नसके ढाँट्नुहोस् किन कि यो युग नै ढाँटको हो। सत्ते रामराम भनेर कसम खानेहरूले त ढाँट्छन् भने तपाईं हामीजस्ता ठण्डारामहरूलाई ढाँट्न के आपत्ति। लौ ढाँट्दै नढाँट्ने मान्छे मेरो अगाडि ल्याउनुहोस् मैले तपाईंकै अगाडि झुन्डिएर मरुँला। गाईको मासु खाने, सक्दै सक्नुहुन्न। नढाँटी निर्वाह नै हुन्न अहिले। खराबमध्येको सबभन्दा राम्रो काम हो यो। असलमध्येको सबभन्दा नराम्रो चाहिँ साँचो बोल्नु हो। यो बुद्धको युग हो र? साढे पच्चीस सय वर्षअघि जन्मेका मान्छेले भनेको कुरा आजको कम्प्युटर युगले किन मानिरहोस्। अरू सब कुरा रुढिवादी भएपछि ती बुद्धका उपदेश पनि त हुनु पर्‍यो नि। अहिले बुद्धले नै पुनर्जन्म लिएर आए पनि ढाँट्नुपर्छ अझै अरूको कुरा।

गौतम बुद्धले भनेका थिए भनेर सत्य बोल्नुहुन्छ तपाईं? परोपकार गर्नुहुन्छ? काटमार नगर्नू भनेका थिए, गर्नुहुन्न? तपाईं मात्र होइन म मात्र होइन यहाँ जति पनि मानिस छन् ती सबै ढाँट्छन् । पुराणका हरिश्चन्द्र होऊन् या कुरानका मुहम्मद होउन् या बाइबलका खि्रष्ट जो भए पनि अहिले ढाँटेन भने बाँच्दैन। सधैँ सत्य बोल्ने भनेका महाभारतका युधिष्ठिरले त ढाँटे– नरो वा कुञ्जरो अश्वत्थामा हतोः हतः भनेर भने नेपालको उपमहाभारतका युधिष्ठिरहरूले कति पटक ढाँट्ने शपथ खाएका छन् तपाईंलाई थाहा छ ?

अश्वमेध यज्ञ गर्छु भनेर हाम्रो उपमहाभारतको युधिष्ठिर तम्सिएको दुईतीन पटक भइसक्यो। कहिले धृतराष्ट्रले दिएन भनेर ढाँटे, कहिले द्रौपदी सुत्केरी भइन् भनेर ढाँटे। अस्ति पल्ट अर्जुनका ससुरा मरे भनेर अश्वमेध रोकिएको। अब फेरि सुरु गर्ने रे। बाबा! पत्याउनुहुन्छ? नढाँटी भन्ने हो भने बाले सुनाएको एउटा किस्सा याद आयो। एउटा गरिब बाहुनले मन्त्रीलाई खुशी पार्न भोजको निम्तो गरेछ। त्यति बेलाका मन्त्री अहिलेका जस्ता भोट पाएपछि जनताको मुखै नहेर्ने कहाँ हुन्थे र? साधारण जनताको भोजको निम्तो पनि स्वीकार्थे। विचरा त्यो बाहुनले मन्त्री बोलाएको दिनसम्म पनि सामग्री जुटाउन सकेनछ। मन्त्री महोदयको प्रवेश भयो घरमा तर केही तयारी थिएन। बाहुनले एउटा उपाय सोचेछ। बस्ने आग्रह मन्त्रीलाई गरी बाहुनले घरभित्र ढुङ्गामाटो लैजान थालेछ। मन्त्रीलाई लागेछ चुलो बनाउन होला। निकै बेरपछि मन्त्रीलाई भित्र डाकेर भनेछ आजलाई भएन हेर्नुहोस् न मेरो घरले बच्चा जन्माइदियो। यस्तो सुतक परेको घरमा को खाने, यसो हेर्छन् त मझेरीमा सानो घर पो बनाएको रहेछ। भोकले टाट पल्टेको भए पनि लुरुक्क फर्केछन्।

महायज्ञको निम्तो त पहिले पनि पाइएको हो क्यारे, घरघर निम्तोपत्र बाँड्न हिँडेका हुन् तर अकबरलाई गोरुको दूध चाहियो र त्यो नपाएर रोकियो। यतिखेर वीरबलले सुत्केरी भएको अभिनय गरेका छन् हेरौँ के हुन्छ।

ढाँट्नु त आजको अनुशासन हो। शासन जस्तो गरे पनि अनुशासन चाहिँ राम्रो पालना गर्नुपर्छ। अब त ढाँट्न सकेन भने कुनै कुरा पनि आँट्न सकिन्न भन्ने ठोकुवा गरे हुन्छ। सोझो औँलाले घिउ आउँदैन भने बङ्ग्याउनुहोस्। घिउ त खानैपर्छ। घिउ नखाई जिउ लाग्दैन। त्यो यज्ञ होला र लड्डू खान पाइएला भनेर बस्ने हो भने त मनको लड्डू घिउसँग खानु भनेजस्तै हुन्छ। फेरि गरिब बाहुनले मझेरीमा बनाएको घर जस्तो तराईतिर अर्को नेपाल बनाउनेहरूले हाम्रो भनिएको कपाल नखालान् भन्न सकिन्न। अनि त देश नै सुत्केरो पर्छ। विवेक विचार नगरी त्यसै दिएको निम्तोपत्र नसमात्नु होला। ढाँटेको निम्तो पो हो कि? ढाँटेको निम्तो खाई पत्याउनु भन्छन्। खान पाएपछि मात्र हो रहेछ भनेर पत्याउँला। मुसालाई अगाडि लगाएर काशी जान हिँडेको बिरालाले डाक्दैमा मुसाहरू अगाडि लाग्ने हो भने ठीकै छ। नत्र भने बिरालाका नङ्ग्रा उस्तै छन्, दाँत उस्तै छन्। एकैछिन झरीमा रुयो भनेर हुन्छ? थाहा पाइराख्नुपर्छ त्यो ङ्याउँङ्याउँ रामभजन होइन। ढाँटको निम्तो हो।

हर्ताकर्ता हामी नै हौँ भनेर मख्ख पर्नुभएको होला, पुरेत बाजेले जसोजसो भन्यो उसैउसै स्वाहा गर्नुपर्ने होला क्यारे। पुरेत बाजेले यज्ञ नथाल्दै दान दक्षिणा मागे भने तपाईंको मात्र होइन तपाइँका बाबुको सम्पत्ति बेचे पनि पुग्दैन। अनि कसले पुर्‍याउँछ यो ढाँटको निम्तो?
Latest LokGeet + More Videos
Latest Today Various Entertainment + More Videos

Viewing all articles
Browse latest Browse all 20351


<script src="https://jsc.adskeeper.com/r/s/rssing.com.1596347.js" async> </script>